
उर्लाबारी, १० वैशाख
मोरङको उर्लाबारी वडा नं. ६ मा नेकपा एमालेले चुनावी अभियानलाई तीब्र पारेको छ । उम्मेद्वार चयन भएसँगै एमालेले सो वडामा आफ्ना एजेण्डासहित चुनावी कार्यक्रम सुरु गरेको हो । नेकपा एमालेले उर्लाबारी–६ को वडाध्यक्षमा घनश्याम भण्डारी, वडा सदस्यमा किशोर श्रेष्ठ र सुजन अधिकारी, महिला सदस्यमा निर्मला काफ्ले नेपाल र दलित महिला सदस्यमा अरुणा विकलाई उम्मेद्वार बनाएको छ ।




चुनावी अभियान अन्तर्गत आज बाँधडाँडा टोलमा टोल कमिटी गठन गरिएको छ । सोही टोलका युवा किशोर श्रेष्ठ वडा सदस्य पदको उम्मेद्वार बनेपछि टोलवासी उत्साहित हुँदै नेकपा एमालेप्रति आकर्षित भएका छन् । आजको कार्यक्रममा दुर्गाप्रसाद तामाङ अध्यक्ष रहेको ३५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । सो अवसरमा नेकपा एमालेका तर्फबाट उर्लाबारी नगरपालिकामा मेयरका उम्मेद्वार गंगाप्रसाद खरेल, एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोला, वडाध्यक्षका उम्मेद्वार घनश्याम भण्डारी, सदस्य पदका उम्मेद्वार किशोर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले नेकपा एमाले गरिब, विपन्न जनताको सारथी भएको बताएका थिए । उर्लाबारी नगरलाई समृद्ध बनाउन स्पष्ट भिजनका साथ आफूहरु अघि बढेको बताउँदै उनीहरुले सबै क्षेत्रको सन्तुलित विकास, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रको विकासमा एमालेको ध्यान केन्द्रीत रहेको जनाएका थिए ।