
उर्लाबारी, ६ वैशाख
जगन्नाथ पुरी गोवद्र्धन पीठका पीठाधीश अनन्त श्री विभूषित जगतगुरु स्वामी श्रीमद् शंकराचार्य निश्चलानन्द सरस्वती महाराज उर्लाबारीमा आउनेहुनुभएको छ । नेपाल भ्रमणको क्रममा रहनुभएका उहाँ आज (मंगलबार) साँझ उर्लाबारी आउने कार्यक्रम रहेको छ ।
आज उर्लाबारी–८ अठियारीमा अनन्तेश्वर शिवालयमा बास बसेर भोलि बिहान ११ बजेदेखि जगतगुरुको आशीर्वचन हुने जनाइएको छ । यो कार्यक्रमको संयोजन उर्लाबारीमा रहेका मठमन्दिरहरुले गरेका छन् भने नेतृत्व देवीस्थान दुर्गा मन्दिर व्यवस्थापन समितिले गरेको छ ।
जगतगुरुको स्वागतार्थ उर्लाबारीका विभिन्न तीन स्थानमा स्वागत गेट बनाइएको स्वागत समारोह मूल आयोजक समितिका संयोजक केदार रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ७ गते बिहान ११ बजेदेखि उर्लाबारी–७ मा रहेको देवीस्थान दुर्गा मन्दिर परिसरमा जगतगुरुबाट आशीर्वचन हुने कार्यक्रम तय भएको पत्रकार सम्मेलन गरी आयोजक समितिले जनाएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्नका लागि यमुना राईको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति र दुर्गाप्रसाद खतिवडाको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । उक्त कार्यक्रममा सहभागिताका लागि आयोजक समितिले उर्लाबारी र यस आसपासका बासिन्दालाई आग्रह गरेको छ ।



