
उर्लाबारी, ३० चैत
उर्लाबारीका पत्रकार सरोज बस्नेत आसन्न स्थानीय तह निर्वाचनका लागि वडा सदस्यको उम्मेद्वार बनेका छन् । उर्लाबारी–७ मा नेकपा माओवादी केन्द्रबाट उनी सर्वसम्मत् वडा सदस्यको उम्मेद्वार चयन भएका हुन् ।
माओवादीले सो वडाबाट वडाध्यक्षमा पवन चौधरी, खुला सदस्यमा सरोज बस्नेत र यमलाल रसाइली तथा महिला र दलित महिला सदस्यमा चन्द्रमाया शंकर र डम्बरकुमारी विश्वकर्मालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । सत्तारुढ दलहरुको गठबन्धन भएर यो वडामा माओवादीले वडा सदस्य पाए बस्नेत नै उम्मेद्वार रहने पार्टी स्रोतले जनाएको छ । सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष बस्नेत नेकपा माओवादी केन्द्र उर्लाबारीका प्रचार संयोजक तथा प्रेस सेन्टर नेपाल पूर्वी मोरङ शाखाका अध्यक्ष हुन् ।
उर्लाबारीमा अन्य केही पत्रकार पनि स्थानीय चुनावमा उम्मेद्वार बनेका छन् । सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारी नेकपा एमालेको तर्फबाट वडा नं. ६ मा वडाध्यक्षको उम्मेद्वार बनेका छन् । केही दिनअघि नेकपा एमालेमा प्रवेश गरेका पत्रकार तथा युट्युवर किशोर श्रेष्ठ पनि सोही वडाबाट वडा सदस्यको उम्मेद्वार बन्ने बताइएको छ ।



