
विराटनगर, २६ असार
देश संघीयतामा गएपछि पहिलो पटक नेपाली काँग्रेसको महाधिवेशन हुन लागेकोले प्रदेश समिति पार्टी संरचनामा नयाँ रहेको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आगामी भदौ १ र २ गते सात वटै प्रदेश अधिवेशन हुने भएको छ । पार्टीको पहिलो प्रदेश सभापति बन्न विभिन्न नेताबीच दौडधुप सुरु भएको छ । प्रदेशको नेतृत्वमा पनि संस्थापन समूह र संस्थापन इतरसमूहबीच प्रतिस्पर्धा हुने छनक देखिएको छ ।
प्रदेश १ को प्रदेश सभापतिका लागि दुवै समूहले प्रत्यासीको चर्चा गर्न थालेका छन् । निर्वाचन क्षेत्रका आधारमा महाधिवेशन प्रतिनिधि छनोट हुने भएकोले यो प्रदेशमा झापा, मोरङ र सुनसरीबाट धेरै प्रतिनिधि छनोट हुन्छन् । यी तीन जिल्लाकै नेतालाई प्रदेश सभापतिको उम्मेद्वार बनाए जित्न सजिलो हुने आंकलन दुवै समूहले गरेका छन् ।
प्रदेश १ मा संस्थापन पक्षले अमृत अर्याललाई प्रदेश सभापतिमा उठाउने चर्चा छ । प्रदेश सभापतिका लागि सो पक्षका भीष्मराज आङ्देम्बेको चर्चा भएपनि उनले जनजातिबाट केन्द्रीय सहमहामन्त्रीको उम्मेद्वार रहने घोषणा गरिसकेकाले प्रदेश १ मा देउवा पक्षको सभापतिमा मोरङका अर्याललाई उठाउने तयारी भएको बुझिएको छ ।
यस्तै, संस्थापनइतरबाट सुनसरी जिल्ला सभापति राजीव कोइराला र झापाका सुधीरकुमार शिवाकोटी मध्ये एक जना प्रदेश सभापतिको उम्मेद्वार बन्ने चर्चा छ । संस्थापनइतरबाट डा. शेखर कोइरालाले राजीव कोइराला र कृष्णप्रसाद सिटौलाले शिवाकोटीलाई अघि सारेका छन् । शेखर र सिटौलाको सहमतिमा दुई मध्ये एक जना उम्मेद्वार बन्ने स्थिति देखिएको छ ।



