About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ चैत
सुरेन्द्र सेर्मा, उर्लाबारीको राजनीति र सामाजिक क्षेत्रमा परिचित नाम हो । विद्यार्थी कालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका उनी समाजसेवामा पनि उत्तिकै अग्रणी छन् । उमेरले पाँच दशक पार गरेपनि सुरेन्द्रको जोश, जाँगर, जीउडाल र अनुहारले उनलाई युवा नै देखाएको छ ।
तत्कालीन राजघाट–७ कुलझोडामा जन्मिएका उनले अरनिको माध्यमिक विद्यालय र उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्दा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा रहेर काम गरेका थिए । २०५६ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेपछि हालसम्म विभिन्न जिम्मेवारीमा रहेर कार्य गरेका छन् । जनसाँस्कृतिक मञ्चको जिल्ला सदस्य, प्ररायुसंघको क्षेत्रीय सचिव, नेकपाको वडा कमिटी अध्यक्ष, नेकपा एमाले उर्लाबारी नगर सहसचिव भइसकेका सेर्मा हाल नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल मोरङ जिल्ला कमिटी सदस्यको भूमिकामा छन् ।
केही महिनाअघि सम्पन्न नेकपा एमाले उर्लाबारीको प्रथम नगर अधिवेशनमा नगर अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका सेर्मा झिनो मतले पराजित भएका थिए । नगर अध्यक्षमा पराजित भएपनि उनी पार्टी संगठन विस्तार र पार्टी गतिविधिमा निरन्तर क्रियाशील छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकाको उपमेयर वा वडा नं. ९ को वडाध्यक्षको उम्मेद्वारको सम्भावित सुचीमा उनको नाम आउँछ ।
उर्लाबारी नगरपालिकाको मेयरमा वर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारीले टिकट पाएको खण्डमा जातीयता र भुगोलका आधारमा सेर्माले उपमेयरको टिकट पाउने सम्भावना छ । साविक राजघाट एमालेको उर्वर भूमि मानिन्छ । भण्डारीले मेयरको टिकट पाएमा राजघाट क्षेत्र र आदिवासी जनजाति दुवैको प्रतिनिधित्व गर्दै सेर्मा उपमेयरको उम्मेद्वार बन्ने उपयुक्त पात्र भएको एमालेजनको बुझाई छ । सो हुन नसके उर्लाबारी–९ को वडाध्यक्षमा बलियो दाबेदार उनी नै देखिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले विश्वास गरेर जुनसुकै पदमा उम्मेद्वार बनाएपनि आफू तयार रहेको सेर्मा बताउँछन् ।
राजनीतिसँगै समाजसेवा उनको लोकप्रियताको आधार बनेको छ । युनिभर्सल युथ ग्रुपको सल्लाहकार, लालिमा समाज सेवा केन्द्रको संस्थापक, भाग्यशाली वित्तीय सहकारी संस्थाको संस्थापक उनी समाजमा आइपर्ने गाह्रो, अफ्ठ्यारोमा सदैव सक्रिय रहने गरेका छन् ।
यतिमा मात्र उनको परिचय सीमित छैन । चर्चित प्रगतिशील नेपाली चलचित्र ‘देउमाइको किनारमा’ का निर्देशक समेत हुन् सुरेन्द्र । २०५१ सालमा रिलिज भएको यो चलचित्रको प्रिमियर शो तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी, मन्त्रीहरु सुवास नेम्बाङ, मोदनाथ प्रश्रित, अशोक राई, प्रदीप नेपाल समेतले हेरेका थिए । २०४५ सालदेखि नै प्रगतिशील नाटक लेखन, निर्देशन तथा अभिनय गरेका उनले देउरालीलाई, आमाको काखमा, ऊ फेरि आउनेछ, चेतनाको लहर जस्ता नाटकको निर्देशन गरेका थिए ।
जीवनको उत्तरार्धमा उनी पार्टी राजनीतिमा सक्रिय छन् । पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएका सेर्मा राजनीति र समाजसेवामै सक्रिय रहने बताउँछन् । पार्टीले मूल्याङ्कन गरेर उम्मेद्वार बनाएको खण्डमा जनप्रतिनिधि भएर नगरको विकासमा योगदान गर्ने उनको उत्कट चाहना रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय