
उर्लाबारी, १४ चैत
उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले महिला नेतृत्वमा आए मात्र महिलाको समस्या समाधान हुने बताएकी छिन् । उनले महिलाले सिकेको सीपलाई उत्पादनमुखी बनाउन आग्रह गरेकी छिन् ।
सोमबार पाथीभरा घरेलु उत्पादन तथा प्रशिक्षण केन्द्रले वडा नम्बर ५ को वडा स्तरीय बजेटबाट ब्याग, सपिङ झोला (पेपर ब्याग, पेपर सपिङ्ग झोला) निर्माण घुम्ती तालिमको समापन कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उपप्रमुख भण्डारीले यस आर्थिक वर्षमा महिलाको क्षेत्रमा नगरबाट ३८ लाख बजेट छुट्टिएको समेत जानकारी गराइन् ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष भानुभक्त शर्मा पराजुली, उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष शेरबहादुर भण्डारी, नेपाल उद्यमशील महिला महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति केन्द्रीय सदस्य रूपा श्रेष्ठ, वडा सदस्य रविन लामा लगायतले मन्तब्य राखेका थिए ।
तालिममा मन्दिरा कार्की, कल्पना ढकाल र सुधीरा थापा कार्कीले प्रशिक्षण दिएका थिए । वडा नम्बर ५ को झुम्रा, सिसौली र वडा कार्यालयमा भएको घुम्ति तालिममा ३२ जनाको सहभागीता रहेको थियो । पाथीभरा घरेलु उत्पादन तथा प्रशिक्षण केन्द्रकी अध्यक्ष भागीमाया भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कविता श्रेष्ठको स्वागत मन्तब्य र सचिव धनमाया वनेमको सञ्चालन रहेको थियो ।