
उर्लाबारी, १२ चैत
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेकपा एमाले उर्लाबारीले प्रचारप्रसारलाई तीब्र बनाउने भएको छ । आज पार्टीले सूचना तथा सञ्चार विभागलाई पूर्णता दिएको छ । विभागले पूर्णता पाएसँगै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन योजनाबद्ध रुपमा लाग्ने सूचना तथा सञ्चार विभाग प्रमुख मदन दाहालले बताए ।
३ सदस्यीय विभागलाई बिस्तार गर्दै एक सय ३४ सदस्यीय बनाइएको छ । यसअघि नगर पार्टी कमिटीले विभागको संयोजकमा मदन दाहाल, सहसंयोजकमा सुमन घिमिरे र सदस्यमा नवराज भट्टराईलाई जिम्मेवारी दिएको थियो । आजको भेलाले नगरका ९ वटै वडाका सक्रिय, सूचना सञ्चार क्षेत्रमा चासो राख्ने युवालाई समेट्दै एक सय ३४ सदस्यीय नगर सूचना तथा सञ्चार विभाग बनाएको हो ।
भेलाले प्रत्येक वडामा फोकल पर्सन तोकेको छ । वडा नं. १ मा भुवन पराजुली, वडा नं. २ मा सक्षम भण्डारी, वडा नं. ३ मा सुमित थापा, वडा नं. ४ मा हरि खतिवडा, वडा नं. ५ मा सुजन चम्लागाई, वडा नं. ६ मा राज खत्री, वडा नं. ७ मा नितम चौहान, वडा नं. ८ मा इन्द्रप्रकाश निरौला र वडा नं. ९ मा गणेशमणि पौडेललाई फोकल पर्सन तोकिएको छ । भेलामा एमाले जिल्ला सदस्य उमाकान्त गौतम, मिना पौडेल, नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोला, राजनीतिक संयन्त्रका सदस्य गंगा खरेल, प्रेस चौतारीका केन्द्रीय प्रतिनिधि मिलन के राउतले पार्टीको प्रचार रणनीतिका बारेमा जानकारी गराएका थिए । उनीहरुले आगामी निर्वाचनमा उर्लाबारीमा एमालेलाई विजयी गराउन आजैदेखि लागि पर्न निर्देशन दिए ।



