About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवामा कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताउनुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने वताउनुभयो । उहाँले जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ, त्यस ठाउँमा मात्र गठबन्धन हुन्छ बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका कमीकमजोरीलाई सच्याउँदै साथीहरुसँगको सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्यको आधारमा गठबन्धन हुन्छ ।” मन्त्री कार्कीले विकास विनाको राजनीतिले देश र समाजको रुपान्तरण हुन नसक्ने उल्लेख गर्दै अहिले मुलुकको आवश्यकता विकास निर्माण, सुशासन, कानुनी शासनको प्रत्याभूति हो, त्यसका लागि गठबन्धन निर्माण भएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले तोकिएकै मितिमा सम्पन्न हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “स्थानीय तहको निर्वाचन वैशाख ३० गते शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित किसिमले उत्साहपूर्ण रुपमा सम्पन्न हुन्छ ।”यसैबिच मन्त्री कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ ।बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उहाँले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिनुभयोे ।सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीको भनाइ छ । कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट सङ्क्रमित भएका बिरामीको उपचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो । गुणस्तरीय स्वास्थ्य सेवा दिनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै मन्त्री कार्कीले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रुपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।सोही अवसरमा मन्त्री कार्कीले अस्पतालको आइसियु तथा कोरोना उपचार सामग्री खरिद गर्नका लागि एक करोड ५० लाख सहयोग गर्नुभएको मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय