
काठमाडौँ, ११ चैत
नेपाली काँग्रेसका प्रदेश सभापतिहरु स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने विषयको विपक्षमा उभिएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरूले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा केन्द्रबाट निर्णय गर्न नहुने तर्क गरेका छन् ।
प्रदेश १ का सभापति उद्धव थापाले केन्द्रबाट तालमेलको निर्णय गर्न नहुने बताएका छन् । यस्तै, कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीले भने झैं कर्णाली प्रदेशमा गठबन्धन गर्ने हो भने कर्णालीमा काँग्रेसले कुनै पनि स्थानीय तहमा जित्न नसक्ने भन्दै तालमेल गर्न नहुने बताएका छन् । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिँदै गठबन्धन गर्दै जाने हो भने नेपाली काँग्रेस कमजोर बन्दै जाने संकेत गरे ।
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि गठबन्धन केन्द्रबाट गर्ने नभएर आवश्यकता अनुसार स्थानीय स्तरबाटै गर्न सकिने बताउँदै यस्तै गरी गठबन्धन गर्दै जाने हो भने नेपाली काँग्रेसको हालत भारतीय काँग्रेसको जस्तै बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली काँग्रेसका अधिकांश नेताहरूले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्ने कुराको विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् । उनीहरु आवश्यकता अनुसार स्थानीय तहमै तालमेल गर्नुपर्ने पक्षमा छन् ।