About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ चैत
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको वृद्धि र विकासका लागि प्रदेश सरकारले ध्यान दिने बताएका छन् । आज अस्पतालको निरीक्षण गर्दै उनले प्रदेश सरकार मातहतमा रहेको अस्पताल भएकाले पनि आफूहरुको चासोको विषय रहेको बताए ।
अस्पताल निरीक्षणपछि आयोजित संक्षिप्त कार्यक्रममा उनले अस्पतालको सेवा सुविधा तथा व्यवस्थापन सन्तोषजनक रहेको बताए । सबै मिलेर स्वास्थ्य क्षेत्रको विकासमा लाग्नुपर्ने बताउँदै उनले शिक्षा, स्वास्थ्य जस्ता विषयमा राजनीति गर्न नहुने धारणा राखे । अस्पतालको वृद्धि र विकासका लागि केसम्म गर्न सकिन्छ भन्ने विषयमा आफूले ध्यान दिने उनले बताए ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रविकुमार शाहले सीमित स्रोत साधनका बाबजुद अस्पताल सञ्चालन गर्नुपरेको बताउँदै अस्पताललाई व्यवस्थित बनाउन सहयोग गर्न सरकारसमक्ष माग गरे । जसका लागि पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापनलगायतमा सरकारले सहयोग गर्नुपर्ने उनको भनाई थियो । मेसु डा. शाहले मन्त्री यादवलाई मागपत्र समेत प्रदान गरेका थिए । मागपत्रमा अक्सिजन प्लान्टका लागि प्रदेश सरकारका लागि प्राप्त रकम १ करोड ५० लाखलाई रकमान्तर गरी भवन निर्माण तथा ट्रमा सेन्टरका लागि आवश्यक पर्ने औजार खरिदमा विनियोजन गर्न, एनआइसीयु सञ्चालन गर्न, अधुरो रहेको ओटी भवन निर्माणका लागि बजेट विनियोजन गर्न माग गरिएको छ । डा. शाहले फिजिसियन डाक्टरको अभाव रहेकोले डा. पठाइदिन अनुरोध गरे ।
कार्यक्रमका सभापति तथा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका अध्यक्ष नरेश पोखरेलले ५० शैयाको अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्न मन्त्रीसमक्ष माग गरे । उनले अस्पताल सञ्चालक समितिमा विभिन्न पार्टीका प्रतिनिधि भएपनि अस्पताल सञ्चालन गर्ने विषयमा राजनीति घुस्न नदिएको बताए । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि, सरोकारवाला तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय