
उर्लाबारी, ६ चैत
उर्लाबारीको राजनीति र समाजसेवामा अग्रणी नाम हो, लोलिम पोमू लिम्बू । उर्लाबारी–९ निवासी पोमू आफूलाई सामाजिक सेवामा समर्पित गराउँदै आएका छन् ।
अरनिको हस्पिटल उर्लाबारीका अध्यक्ष पोमू कसैले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर पहिलेदेखि नै गरिब, विपन्नको निःशुल्क उपचार गराउँदै आएका छन् । यसैक्रममा शनिबार उनले उर्लाबारी–९ का ११ परिवारको स्वास्थ्य बिमा गराइदिएका छन् । करिब ५० हजार रुपैयाँ तिरिदिएर उनले ती गरिब तथा विपन्न परिवारको घरघरमै पुगेर स्वास्थ्य विमा गराइदिएका हुन् ।
पैसा अभावकै कारण कसैले पनि उपचारबाट बन्चित हुनु नपरोस् भनेर ११ परिवारको बिमा गरिदिएको बताउँदै उनले भने, ‘क्रमशः अरु विपन्न परिवारको पनि बिमा गरिदिनेछु ।’ उनले यसअघि १३ परिवारको बिमा गराइदिएका थिए । जम्मा २४ परिवारले बिमावापत २४ लाख बराबरको स्वास्थ्य सेवा प्राप्त गर्ने उनले बताए ।
नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ (क) का उपसभापति समेत रहेका युवा नेता लोलिम लामो समयदेखि सामाजिक सेवामा सक्रिय छन् । उनले आर्थिक अभावका कारण उपचार नपाएका सयौं बिरामीको अरनिको अस्पतालमा निःशुल्क उपचार गराइदिएका छन् । वडाका हरेक क्षेत्रमा रहेका समस्या समाधानमा सक्रिय हुने उनले वडावासीको मन जित्ने काम गर्दै आएका छन् ।