
तराई मधेसमा आज हर्षोउल्लासका साथ होली पर्व मनाइदै छ । राति होली दहनसंगै आज विहानै देखि एकआपसमा रंग दलेर होली मनाइदै छ । होली पर्वका सम्वन्धमा धार्मिक ग्रन्थहरुमा विभिन्न कहावत पाइन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । होली तीन हजार वर्ष अघि देखिनै मनाउन थालिएको संस्कृति विद प्रा डा सोम खतिवडाको भनाई छ । होली अन्न थन्क्याइसकेको अवस्था र जाडो गएको खुशियालीमा मनाइने पर्व रहेको डा खतिवडाको तर्क छ । सवै जात समूदायले मनाउने भएकाले होलीले एकताको शन्देश वोकेको पाइन्छ । आपसी रिस,राग र शत्रुतापूर्ण ब्यवहार भएपनि होली खेलेर ती सवै कुरा विर्षेर एकता र भाइचारामा जोड दिने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।



