
नेकपा एमालेका केन्द्रीय सदस्य प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ओरालो लागेको माओवादीलाई कांग्रेस र एमालेले पालैपालो बचाइदिन्छन् भन्ने भ्रम नपाल्न आग्रह गर्नुभएको छ । काँग्रेस सँग नभए एमाले सँग चुनावी तालमेल हुनसक्ने माओवादी अध्यक्ष प्रचण्डको भनाई पछि नेता रिजालको यस्तो प्रतिक्रिया आएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ —’कांग्रेसले नमाने एमालेसँग चुनावी तालमेल गर्ने’ माओवादी अध्यक्ष प्रचण्डको धारणाले माओवादी कति भयानक संकटबाट गुज्रिरहेको छ भन्ने त देखाउँछ नै, उहाँको अस्थिर, अवसरवादी र द्वैध चरित्रलाई थप उदांगो गर्दछ । विगतमा कांग्रेससँग सत्ता सहकार्य गर्दागर्दै एमालेसँग चुनावी तालमेल गरेर पार्टी जोगाए जस्तो सपना अब नदेख्दा छिटो ऐंठनबाट मुक्त हुन सकिएला । अन्यथा, ओरालो लागेको माओवादीलाई कांग्रेस र एमालेले पालैपालो बचाइदिन्छन् भन्ने भ्रम रहिरहन्छ । हाललाई यति भनौँ, कम्तीमा एमालेले चुनावमा फेरि उद्दार गरिदिन्छ भन्ने सोचेको भए त्यो दिवास्वप्न मात्र हो ।



