
उर्लाबारी, २ चैत
नेपाल दर्शन कलेज उर्लाबारीको खेलकुद सप्ताह सकिएको छ । सात दिनसम्म विभिन्न खेलहरु सञ्चालन भएको कलेजका प्रिन्सिपल राजेश महेश्वरीले जानकारी दिए ।
खेलकुद सप्ताह अन्तर्गत आज अन्तिम दिन फुटसल खेल सम्पन्न भएको छ । यसअघि भलिबल, व्याडमिन्टन, दौड, हाफ म्याराथुन, स्लो बाइक रेस, म्युजिकल चेयर्स, चम्चा दौडलगायतका विभिन्न खेल सञ्चालन गरिएको थियो । उक्त खेलहरुमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद पौडेलले बताए ।
आज फुटसलको फाइनल खेलमा विजेता तथा उपविजेतालाई कलेजका निर्देशक केपी शिवाकोटीले ट्रफी, मेडल साथै नगद पुरस्कार प्रदान गरे । विद्यार्थीको चौतर्फी विकासका लागि पठनपाठनका साथै अतिरिक्त क्रियाकलापको आवश्यकता पर्ने भएकोले कलेजले वर्षेनि खेलकुद सप्ताह आयोजना गर्ने गरेको प्रिन्सिपल महेश्वरीले बताए ।
कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन साथै स्नातक तहमा व्यवस्थापन संकायमा पठनपाठन हुने नेपाल दर्शन कलेज यस क्षेत्रकै उत्कृष्ट कलेजको रुपमा चिनिएको छ । उर्लाबारी, पथरी शनिश्चरे, रतुवामाई, दमक नगरपालिका, मिक्लाजुङ गाउँपालिकाका साथै अन्य क्षेत्रका विद्यार्थी पनि यस कलेजमा अध्ययनरत छन् । दक्ष, अनुभवी प्राध्यापकबाट पठनपाठन हुँदै आएको कलेजले वर्षेनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । हाल कलेजमा पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् ।



