
काठमाडौं, १ चैत
विद्यालयले लिने कक्षा १० सम्मका सबै परीक्षाहरु आगामी वैशाखमा मात्र गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्देशन दिएको छ । आज एक सूचना प्रकाशित गरी केन्द्रले कक्षा १० सम्मका सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो ।
शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै अनुकुल समयमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, विद्यालयहरूले नयाँ शैक्षिक सत्र पनि वैशाखमा नै सुरु गर्नुपर्ने उल्लेख गरिएको छ भने, जेठ १ गतेबाट पठनपाठन पनि सुरु गर्नुपर्नेछ ।



