
उर्लाबारी, २५ फागुन
उर्लाबारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएका छन् । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा अग्निप्रसाद अधिकारी आएका हुन् ।
दुई महिना अघिदेखि मन्त्रालयमा रहेका अधिकारीले गत आइतबार उर्लाबारीको कार्यालय प्रमुखको कार्यभार सम्हालेका हुन् । १४ वर्षअघिदेखि स्थानीय निकायमा कार्यरत रहेका उनले यसअघि इलाम, धनकुटा, मेलम्ची, पाँचखाल, गोकर्णेश्वर, तारकेश्वरलगायत नगरपालिकामा कार्यालय प्रमुख भएर कार्यसम्पादन गरेका थिए । झापाको गौरादह निवासी अधिकारी पछिल्लो समय भक्तपुरको चाँगुनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए ।
उर्लाबारीमा लामो समयदेखि मुरारीप्रसाद घिमिरे निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।



