
उर्लाबारी, १५ फागुन
मोरङको उर्लाबारीमा आजदेखि तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता हुँदैछ । आज दिउँसो १ बजे प्रतियोगिताको उद्घाटन कार्यक्रम हुने र त्यसका लागि तयारी पूरा भएको आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भीष्म बुढाथोकीले बताए ।
उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल फागुन २३ गते हुने छ । प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाका टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष योगराज फागोले बताए ।