
उर्लाबारी, १४ फागुन
२०७४ सालको स्थानीय तह निर्वाचनमा उर्लाबारी वडा नं. २ मा वडाध्यक्षसहित चार सिट नेपाली काँग्रेसले जितको थियो भने एक जना वडा सदस्य नेकपा एमालेबाट विजयी भएका थिए । आफ्नो पाँच वर्षे कार्यकाल सकिन लाग्दा एमालेबाट निर्वाचित ती वडा सदस्य नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
शनिबर उर्लाबारी २ मा नेपाली काँग्रेसले आयोजना गरेको टोल कमिटी गठन तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा वडा सदस्य गोविन्दप्रसाद चौलागाई नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । सो अवसरमा उनीसहित ३० जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका चौलागाईलगायतलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश नम्वर १ का सहमहामन्त्री खड्ग फागोले अविर र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा मोरङ क्षेत्र नं १ (क) का सभापति नरबहादुर मोक्तान, नगर सभापति सुरेन्द्र लिम्बू, वडा नं २ का वडा अध्यक्ष राजनकुमार कडेल, वडा नम्वर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम काँग्रेस वडा नम्वर २ का सभापति रुद्र बरालको सभापतित्व तथा वडा सचिव राजु थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



