
काठमाडौं, १२ फागुन
एमसीसीका विषयमा दलहरु पक्ष विपक्षमा विभक्त भइरहेका बेला नेकपा एकीकृत समाजवादी पार्टीमा भने मन्त्रीहरू एमसीसीको पक्षमा उभिएका छन् भने नेताहरू भने विपक्षमा देखिएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन् । शीर्ष नेताहरू भने एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन्।
शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । जबरजस्ती एमसीसी अघि बढाइए सडकमा आगो बल्ने उनले चेतावनी दिएका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल भने पक्ष वा विपक्षमा स्पष्ट रुपमा खुलेका छैनन् । तर, नेकपा एसनिकट भ्रातृ संगठनका नेता कार्यकर्तामा एमसीसीविरुद्ध सडकमा उत्रिएका छन्।