
उर्लाबारी, ११ फागुन
स्वास्थ्य बिमा बोर्डले बिमा वापतको रकम उपलब्ध नगराउँदा उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सञ्चालनमा समस्या आएको छ । बिमा सेवा वापतको करोडौँ रकम लामो समयदेखि नआउँदा अस्पताल आर्थिक रुपमा धरासायी बनेको मेडिकल सुपरिटेण्डेन्ट डा. रविकुमार साहले बताए ।
अस्पतालले गत फागुन ३ गतेसम्मको बिमा सेवा वापतको ३ करोड १७ लाख ४० हजार ९३० रुपैयाँ पाउन बाँकी रहेपनि बोर्डले अहिलेसम्म उक्त रकम दिएको छैन । बोर्डबाट रकम प्राप्त नहुँदा अस्पताल सञ्चालनका लागि अतिआवश्यकीय सामग्रीहरु खरिदको गत आर्थिक वर्षदेखिकै भुक्तानी बाँकी रहेको मेसु डा. साहले बताए । ‘सप्लायर्सहरुले गत आर्थिक वर्षदेखिकै रकम नपाएपछि सामग्री दिन नसक्ने पत्र पटक पटक पठाइसकेका छन्’ डा. साहले भने, ‘अझै बिमा बोर्डले रकम दिन तत्परता नदेखाउने हो भने बिमा सेवा बन्द गर्नुपर्ने अवस्था छ ।’ अस्पतालले इमर्जेन्सी, इन्डोर, ल्याब, एक्स रे, भिडियो एक्स रे, ओटी, ओपीडी, डेन्टललगायतका शाखाको लागि केमिकल, एक्स रे फिल्म तथा सार्जिकल सामग्रीहरु खरिद गर्नुपर्ने भएपनि बजेट अभावका कारण समस्या भएको छ ।
मेसु डा. साहले अस्पतालमा आउने बिरामी मध्ये ९० प्रतिशत विमाबाटै आउने गरेको बताए । जसले गर्दा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीलाई तलब दिन पनि समस्या भएको छ । ‘एकातिर सेवा विस्तार गर्दै छौं, अर्कोतिर बिमाको रकम प्राप्त नहुँदा भएका सेवा बन्द गर्ने अवस्था आएको छ’ उनले भने ।
ल्यावका लागि प्रदेश सरकारले वार्षिक १ लाख रुपैयाँ विनियोजन गर्ने गरेको भएपनि यसले एक हप्ता पनि नपुग्ने डा. साहले बताए । ‘अस्पतालमा बिरामीको चाप छ, अहिले दैनिक साढे तीन सयदेखि चार सय जनासम्म बिरामी उपचारका लागि आउँछन्’ उनले भने, ‘गर्मी बढेसँगै बिरामीको संख्या अझै बढ्छ, खर्च धान्न नै समस्या छ ।’
यसैबीच, अस्पताले बिमा बोर्डलाई पत्र लेखी बिमा सेवा वापत अस्पतालले पाउनु पर्ने रकम यथाशीघ्र भुक्तानी गरिदिन अनुरोध गरेको छ । समयमा रकम उपलब्ध नहुँदा अस्पताल सञ्चालनमा समस्या भएको जनाउँदै फागुन १५ गतेभित्र रकम निकास नभए स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिने जनाएको छ । पत्रमा भनिएको छ, ‘फागुन १५ गतेसम्ममा रकम उपलब्ध नभएमा स्वास्थ्य विमा कार्यक्रमलगायत सबै सेवा सुचारु गर्न नसकिने एवम् ताला लगाई बन्द गर्नुको विकल्प छैन ।’



