
झापाको कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएका ९५ प्रतिशत काम पूरा गरेको दावी गर्नुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरा गर्दै प्रदेश नम्वर १ का पालिकाहरुमा एक मात्र महिला प्रमुख काफ्लेले कमल गाँउपालिकाको विकास र सम्वृद्धिका लागि उल्लेख्य काम भएको बताउनुभयो ।
पूर्वाधारको क्षेत्रमा गाउँपालिकाले फड्को मारेको उहाँको भनाई छ । अध्यक्ष काफ्लेले भन्नुभयो ‘साढे चार बर्ष अघिसम्म पिच सडक हेर्न राजमार्गनै पुग्नुपथ्र्यो, अहिले प्रत्येक वडामा कालोपत्रे सडक पूर्याइएको छ ।’उहाँले ६० बढी ऐन,कानुन र कार्यविधि निर्माण गरि संघीयतालाई संस्थागत गर्ने कार्य गरेको बताउनुभयो । जनतालाई मुस्कान सहितको सेवा प्रवाह गरेको दावी गर्दै अध्यक्ष काफ्लेले भन्नुभयो –सेवा प्रवाहमा जनताले गुनासो गरेका छैनन् । चुनावताका गरेको महिलामैत्री गाउँपालिका बनाउने प्रतिवद्धता पूरा गर्न महिलाका क्षेत्रमा विशेष कार्यक्रमहरु संचालन गरिएको उहाँको भनाई छ ।




गाउँपालिका भित्रमा धेरै महिलालाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाइएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो कृषि क्षेत्रका विकासका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरियो, कृषि गुरुयोजनानै निर्माण गरि सोही अनुरुप कार्यक्रम संचालन गरियो, माटो परीक्षण ल्याव स्थापना, दुई ठाउँमा कृषि ज्ञान पाठशाला सचालन गरियो । अध्यक्ष काफ्लेका अनुसार कमल गाँउपालिकामा विषादीमुक्त गाउँपालिका बनाउन जैविक मल उत्पादन गर्न थालिएको छ । युरिया र डिएपीमलको विकल्पमा आफैँ जैविक मल उत्पादन भइरहेको छ चाँडै गाउँपालिकाको लोगो सहित बजारमा ल्याउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।