
उर्लाबारी, २१ असार
मोरङको उर्लाबारी नगरपालिकाले परम्परागत रिक्सा चालक र महिला सिटी सफारी चालकलाई सम्मान गरेको छ । सोमबार नगरपालिकामा एक कार्यक्रम गरी उर्लाबारीमा रहेका तीन जना परम्परागत रिक्सा चालकलाई जनही ८ हजार ३ सय नगदसहित सम्मान गरेको छ । यस्तै, सिटी सफारी चलाउने ८ जना महिलालाई जनही ७ हजार ५ सय नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा नगर प्रमुख खड्ग फागोले सम्मानपत्र र नगद प्रदान गरे ।
सो अवसरमा नगर प्रमुख फागोले आफ्नै पौरखले जीविका चलाउँदै आउनुभएका महिला तथा रिक्सा चालकको श्रमको मूल्याङ्कन गर्दै सम्मान गरिएको बताए । पूर्वपश्चिम लोकमार्गमा सडक बत्ती जडान गरिएको र अन्य शाखा मार्गहरुमा पनि जडान गर्ने तयारी भएको बताउँदै उनले सफारी चालकलाई निर्धक्कताका साथ कार्य गर्ने वातावरण बन्दै गएको बताए । सो अवसरमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे र लेखा अधिकृत गोविन्द कार्कीले सम्मानितहरुलाई खादा र अविर लगाइदिएका थिए ।
सम्मानित हुने रिक्सा चालकहरुमा उर्लाबारी–४ का आइतबहादुर धिमाल, खुलाल धिमाल र काफ्ले धिमाल रहेका छन् । यस्तै, महिला सिटी सफारी चालक उर्लाबारी–१ का जमुना माझी र पवी बिष्ट, उर्लाबारी–४ का तुलसा पाण्डे, रुपा भण्डारी र अनिशा खत्री, उर्लाबारी–७ का श्रीमाया लिम्बू र विमला राजवंशी र उर्लाबारी–८ की पातली वनेम सम्मानित भएका छन् ।
‘लामो समयदेखि उर्लाबारीमा रिक्सा चलाइरहेका छौं’ सम्मानित रिक्सा चालक काफ्ले धिमालले भने, ‘नगरपालिकाले सम्झेर सम्मान गरेको छ, यसैमा खुसी छौं ।’ महिला सिटी सफारी चालकहरुले पनि नगरपालिकाप्रति आभार प्रकट गरेका थिए ।



