
उर्लाबारी, ७ फागुन
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै अहिले गाउँ गाउँमा चुनावी माहोल बढेको छ । एकातिर निर्वाचन आयोगले निर्वाचनको तयारी तीब्र पारेको छ भने अर्कोतिर गाउँ, नगरमा चुनावी चहलपहल बढेको छ । मोरङको उर्लाबारीमा चुनावी माहोल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरु टोलटोलमा सक्रियता जनाउन थालेका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय तह घोषणा भएपछि भएको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अवधि समाप्त हुन लागेको छ । २०७४ साल असार १४ गते भएको निर्वाचनलाई फर्केर हेर्दा मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खड्ग फागो निर्वाचित भएका थिए । उनले ११ हजार ६३२ मत प्राप्त गरेका थिए । फागोले निकटतम् प्रतिस्पर्धी भुपालसिंह जिमीलाई ३ हजार ९० मत अन्तरले पछि पारेका थिए । जिमीले ८ हजार ५४२ मत ल्याएका थिए । उक्त निर्वाचनमा ८ जना मेयरका प्रतिस्पर्धी थिए । जसमा नेकपा माओवादी केन्द्रका राजेन्द्र पौडेलले १ हजार ९७९, राप्रपाका विनोद पोख्रेलले २६८, जनजागरण पार्टी नेपालका टिकाराम भुजेलले ६५, संघीय समाजवादी फोरम नेपालका मनोहरि दाहालले ६३, फोरम लोकतान्त्रिकका टेकबहादुर धिमालले ३८ र स्वतन्त्र उम्मेद्वार नरसिंह धिमालले १३ मत प्राप्त गरेका थिए । तत्कालीन माओवादी केन्द्रबाट मेयरको उम्मेद्वार रहेका पौडेल अहिले नेकपा एमालेमा छन् भने संघीय समाजवादी फोरमका मनोहरि दाहाल भर्खरै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।



