
काठमाडौं –नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्नुपर्नेे निर्णय गरेको छ ।सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले भोली प्रतिनिधिसभामा एमसीसीलाई टेबल गराएर अनुमोदन गराउने निर्णय गरेको हो ।बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताउनु भयो ।प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गर्नुभयो । उहाँले फोन गरेर सभामुखलाई कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गर्नु भयो । बैठकमा नेता डा.रामशरण महतले अमेरिकी सहयोग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभयो । उहाँले यहाँ अमेरिकाको सेना आउँदैन, उसले यहाँ हस्तक्षेप गर्दैन भन्नुभयो ।नेतृ सुजाता कोइरालाले एमसीसी पास गर्न ढिलो गर्न नहुनेमा जोड दिनुभयो ।अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी पास गर्नुपर्ने उहाँको तर्क छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।