About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, १ फागुन
पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्नुभएको छ । इटहरी उपमहानगरपालिका परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवन उत्तरपट्टि भवनको शिलान्यास गर्नुभएको हो । ९ करोड १८ लाख २४ हजार ३ सय ६४ रुपिँयाको लागतमा छ तले भवन निर्माण हुने छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरपालिकामा भएका विकास निर्माणका कार्यको प्रशंसा गर्नुभयो । जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नसक्ने उहाँको भनाई छ । उहाँले जनप्रतिनिधिहरु जनताको अडिटिङमा खरो उत्रन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहहरुले आधारभूत रुपमा उल्लेख्य कार्य गरेको बताउनुभयो ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफ्नो कार्यकालमा इटहरीको विकास र सम्वृद्धिका लागि उल्लेख्य कार्य भएको बताउनुभयो । जनताको सहयोगमा पूर्वाधार निर्माणमा इटहरीले फड्को मारेको उहाँको दावी छ । अब बाँकी १ सय दिनमा पचास बढि योजना उद्घाटन र शिलान्यास हुने प्रमुख चौधरीले जानकारी दिनुभयो ।
उपप्रमुख लक्ष्मी गौतमले कोभिडका कारण पाँच सय दिन विकास निर्माणका काम प्रभावित भएपनि भौतिक पूर्वाधार निर्माणमा इतिहास रच्न सफल भएको बताउनुभयो । उहाँले गाउँ गाउँका सडक कालोपत्रे भएको, २ वटा वाहेक सबै वडा कार्यालय भवन निर्माण, १४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइसकेको जानकारी दिनुभयो । कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले स्वागत गर्नुभयो ।
इटहरी वडा नम्बर ६ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ इन्जिनियर जीवन घिमिरेले भवनको प्राविधिक पक्ष र लागतका बारेमा प्रष्ट पार्नुभयो । यसैबिच पूर्व उपप्रधानमन्त्री पोखरेलले आजै इटहरी वडा नम्वर १७ खर्सेला खोलामा निर्मित पुलको उद्घाटन गर्नुभयो । २२ लाख १ हजार लागतमा निर्मित पुल उद्घाटन गर्नुभएको हो । कार्यक्रम वडा नम्वर १७ का अध्यक्ष भगवान लाल शाहको अध्यक्षतामा भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय