
इटहरी, १ फागुन
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनका लागि आफैँ उम्मेद्वारी घोषणा गर्दै नहिँड्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा इटहरीले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेताको घर घर धाएर टिकट नपाइने समेत प्रष्ट पार्नुभयो ।
स्थानीय पार्टी कमिटीको सिफारिसका आधारमा उम्मेद्वार चयन गरिने वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रका तीनै निर्वाचनमा नेकपा एमालेले वहुमत ल्याउने दावी गर्नुभयो । उहाँले चुनाव नचाहने गठवन्धनकै दलहरुले अझै पनि विभिन्न कारण देखाएर चुनाव विथोल्न सक्ने भएकाले सजग रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अहिले स्थानीय तहको चुनाव नेकपा एमालेको पहिलो प्राथमिकता भएकाले चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले देश चलाउने नेताहरुको नालायकि देखेर विदेशीहरुले हेप्न थालेको बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले अब नेकपा एमालेका सवै नेता कार्यकर्ता तीन महिनासम्म पूर्णकालीन ढंगले वडा वडामा खट्ने बताउनुभयो । एमाले इटहरी अध्यक्ष याम सुब्बाले आगामी स्थानीय निर्वाचनमा एमालेले इटहरीका सवै वडा जित्ने दावी गर्नुभयो ।



