
नवराज भट्टराई, उर्लाबारी
गत आइतबार सपथ लिएका प्रदेश १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे आफ्नो मन्त्रालय मातहत सरोकारका विषयमा एक्सनमा उत्रिएका छन् । यातायात क्षेत्रका जटिलता सुधारका लागि मन्त्रीले चासो दिएका हुन् । उनले मन्त्री नियुक्त भएको भोलिपल्टै सवारीसाधनको स्मार्ट लाईसेन्स वितरणमा हुने गरेको ढिलासुस्तीका विषयमा लिखित प्रतिवेदन पेश गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
यातायात क्षेत्रको सुधारका लागि मन्त्रीले विभिन्न योजना अघि सारेका छन् । १५ दिनभित्रमा स्मार्ट लाइसेन्स वितरण गर्ने, सवारी साधनको कर अनलाइनबाटै तिर्ने व्यवस्था गर्ने, ट्राफिकको राजश्व संकलन पनि बैंकिङ प्रणालीबाट गर्ने, शहरबजारमा हुने अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने, दुर्घटना न्युनीकरणलगायतका विषयमा सरोकारवालासँग मन्त्री घिमिरेले छलफल अघि बढाएका छन् । छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरीका उच्च अधिकारी, यातायात व्यवस्था कार्यालयका प्रमुखलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
यस्तै, मन्त्री घिमिरेले सञ्चार र कला क्षेत्रको विकासमा गर्ने सकिने कार्यहरुका बारेमा पनि छलफल अघि बढाएका छन् । यसै सिलसिलामा कलाकारहरुसँग छलफल भएको छ । प्रदेशको नयाँ मन्त्रालय भएका कारण मन्त्रालयले गर्ने कामका बारेमा चाँडै योजना बनाएर अघि बढ्ने मन्त्री घिमिरेकी सल्लाहकार शान्ति पाख्रिनले जानकारी दिइन् । मन्त्रालयको जिम्मेवारी पाएपछि उर्जाका साथ मन्त्रीज्यूले कार्य अघि बढाउनुभएको र चाँडै उपलब्धीहरु हाँसिल हुँदै जाने उनको भनाई छ ।