
नेकपा एमालेका स्थायीकमिटि सदस्य हिक्मत कार्कीले स्थानीय चुनावमा गठवन्धन मात्र होइन एउटै चुनाव चिन्ह लिएर आएपनि एमाले सामना गर्न तयार रहेको वताउनुभएको छ ।सप्तकोशी एफएमवाट प्रशारण हुने कार्यक्रम सप्तकोशी वहसमा कुरा गर्दै पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले गठवन्धनलाई पराजीत गरेर एमाले पहिलो पार्टी वन्ने दावी गर्नुभयो ।उहाँले एमालेलाई कुनै वैशाखीको आवश्यकता नरहेको तर अरुदल वैशाखीकै सहारामा हिडन वाध्य रहेको वताउनुभयो । प्रमुख विपक्षी दलविरुद्धको गठवन्धन दुनियाँमा कहिँपनि नभएको उहाँको भनाई छ ।
गठवन्धन भत्किन्छ
नेता कार्कीले चुनाव सम्ममा पाँच दलीय गठवन्धन भत्कने वताउनुभयो । उहाँले भन्नुभयो केहि दिनभित्रमा गठवन्धन टुटयो भने अनौठो नमाने हुन्छ । उहाँले अहिलेको गठवन्धन टुटेर काँग्रेस र एमाले विच गठवन्धन हुन सक्ने तर्फ पनि संकेत गर्नुभयो । तर गठवन्धन रहिरहेपनि चुनावमा एमालेलाई असर नगर्ने नेता कार्कीको दावी छ ।
प्रदेश सरकार आफनै कारणले ढल्छ
स्थायी कमिटि सदस्य कार्कीले गठवन्धन प्रदेश सरकारले १४ जना मन्त्री पूरयाएर प्रदेश संरचनालाईनै वदनाम गरेको वताउनुभयो । नेता कार्कीले भन्नुभयो “मन्त्रालय राख्ने ठाँउ छैन,थपिएका मन्त्रालयलाई कुनै अधिकार छैन,वजेट छैन,संविधानले दियो भनेर मन्त्रालय वढाएर मात्र हुन्छ ? यसले प्रदेश संरचनालाई वदनाम र वितृष्णा जगाउने काम मात्र भएको छ ।” उहाँले अझै पाँच जना राज्यमन्त्री थप्ने कुरा सुनेको वताउनुभयो । प्रदेश सरकार आफनै कारणले ढल्ने समेत उहाँको कार्कीको दावी छ ।