
विराटनगर, २३ माघ
प्रदेश नं. १ मा आज मन्त्रीपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री राईले सत्ता साझेदार दललाई समेटेर मन्त्री परिषद विस्तार गर्न लागेका हुन् ।
प्रदेश सरकारले सात सदस्यीय मन्त्रीपरिषद्लाई बढाएर १२ सदस्यीय बनाउने यसअघि नै निर्णय गरिसकेको छ । आज गठबन्धनभित्रका चार दलबाट मुख्यमन्त्री राईले मन्त्री थप गर्ने भएका छन् । विस्तार हुन लागेको मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट थप तीन, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट दुई÷दुई जना मन्त्री बन्न लागेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री राईले आइतबार नियुक्त गर्न लागेका मन्त्रीहरुको नाम भने गोप्य राखेका छन् । यद्यपि कांग्रेसबाट शेखरचन्द्र थापा, प्रताप प्रकाश हाङ्गाम र ओमप्रकाश सरावगी मन्त्री बन्ने निश्चित भएको स्रोतको भनाइ छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, राजन राई, खिनु लङ्वा, माओवादी केन्द्रबाट रामकुमार राई, झलकबहादुर मगर मन्त्री बन्न लागेको जनाइएको छ ।



