
धरान,२२ माघ प्रेस चौतारी नेपाल सुनसरीले संगठनको २४ औं स्थापना दिवसको अवसरमा पत्रिका वितरण गर्ने २ जनालाई साइकल प्रदान गरेको छ । धरानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एमाले महासचिव शंकर पोखरेलले इटहरी र धरानमा पत्रिका वितरण गर्ने दुईजना हकरलाई साइकल वितरण गर्नुभयो । धरानमा १५ बर्षदेखि पत्रिका वितरण गर्ने ५० बर्षीय बद्री राई र इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै एमाले महासचिव पोखरेलले स्थानीय तहमा रिक्तता ल्याउने षडयन्त्र हुनसक्ने भन्दै सजक गराउनुभयो । एमाले प्रदेश इन्र्चाज देवराज घिमिरे,प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भटटराई,अग्रज पत्रकार किशोर कार्कीले स्थापना दिवसका अवसरमा शुभकामना ब्यक्त गर्नुभयो । प्रेस चौतारीकी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलले साधनको अभावले हकरहरु समस्यामा हुने भएकोले साइकल वितरण गरिएको वताउनुभयो ।



