
काठमाडौं, २१ माघ
स्थायी शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा २ लाख ३६ हजारले आवेदन दिएका छन् । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि बिहिबारसम्म २ लाख २६ हजार ३ सय ४७ जनाले फारम भरेको आयोगले जनाएको छ ।
आज प्राथमिक तहको आवेदन दिने समय सकिँदै छ । माध्यमिक तह र निम्न माध्यमिक तहको भने यसअघि नै समय सकिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार माध्यमिक तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ जनाले आवेदन दिएका छन् । यस्तै, निम्न माध्यमिक तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् ।
प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा बिहिबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन् । आयोगले मावि तह चैत १५, निमाविको चैत १७ र प्राविको चैत १९ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।



