
उर्लाबारी, २१ माघ
मोरङको उर्लाबारी–३ मा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सेवा सुविधा थपिँदै गएको छ । २०४९ सालमा तीन बेडबाट सुरु भएको स्वास्थ्य सेवा, प्रदेश सरकारको मातहतमा भएपछि १५ सैयाबाट ५० सैयामा स्तरोन्नति भएसँगै सेवा सुविधा थप हुँदै गएको हो । अहिले झापा, मोरङ, इलाम लगायतका सेवाग्राहीहरुका लागि सहज रुपमा सेवा लिने अस्पताल भएको छ ।
नेपाल सरकारको एकीकृत चिकित्सा प्रणाली अनुसार होमियोपेथी उपचार सेवा तथा स्वास्थ्य बिमा कार्यक्रम चलिरहेको यस अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म सेवाग्राहीहरु उपचारका लागि आउने गरेका छन् । स्तरोन्नतिका क्रममा केही समस्या रहेपनि अहिले आएर सेवामा सुधार भएको सेवाग्राहीहरु बताउँछन् ।
अस्पतालमा २४ घण्टै इमर्जेन्सी सेवा, सिजेरियन सेक्सनसहितको प्रसुति सेवा, डिजिटल प्रयोगशाला, एक्सरे सेवा, शल्यक्रियासहितको हाडजोर्नी सेवा, फार्मेसी सेवा, एम्बुलेन्स सेवा सञ्चालनमा छन् । हाडजोर्नी तथा नसा रोग, बाल रोग, महिला तथा प्रसुति, फिजिसियन, दन्त चिकित्सा, भिडियो एक्सरेलगायत क्षेत्रमा विशेषज्ञसहितको सेवा प्रदान गरिँदै आएको छ । त्यस्तै, पोष्टमार्टम, सुरक्षित गर्भपतन, होमियोपेथी, बाथ रोग, कुष्ठरोग उपचार सेवा, चमेना गृह सञ्चालित रहेको अस्पतालका सूचना अधिकारी निराजन पौडेलको भनाई छ । सो अस्पतालमा रेबिज विरुद्धको खोप लगाउनुका साथै ब्लड बैंक साथै एम्बुलेन्स सेवाको पनि सुविधा रहेको छ । यस्तै, थाइराइड, भिटामिन वी, कलेजोको जाँच, मृगौला जाँच, रगतमा बोसोको मात्रा र सुगर सम्बन्धी जाँच लगायत सेवा पनि रहेको सूचना अधिकारी पौडेलले बताए ।
अक्सिजन प्लान्टको स्थापना, भिटामिन डी र थाइराइडको परीक्षण हुनुका साथै कल्चर सेवा तत्कालै सुचारु गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । हाल हाडजोर्नी तथा नशा रोग विशेषज्ञ ३ जना, फिजिसियन १ जना, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ २ जना, बेहोस बनाउने चिकित्सक १ जना, बाल रोग विशेषज्ञ १ जना भिडियो एक्सरे सेवाका लागि १ जना, एमडीजिपी १ जना, मेडिकल अफिसर ४ जना, फार्मेसी १ जना, प्रशासन १ जना, लेखा १ जना, कम्प्युटर अपरेटर ६ जना, रेडियोग्राफर २ जना, ल्याव टेक्निसियन ७ जना, एचए÷अहेव ९ जना, स्टाफ नर्स÷अनमी २५ जना, कार्यालय सहयोगी र सरसफाईका लागि २४ जना गरी ९५ जना कर्मचारी कार्यरत रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रविकुमार शाहले जानकारी दिए । तत्काल मेडिकल सर्जन र फिजिसियन थप गर्न प्रदेश सरकार समक्ष अनुरोध गरिएको छ ।
तीन बेडबाट सुरु भएको स्वास्थ्य सेवा, दुई विघा क्षेत्रफलभित्र नेपाल सरकारको साढे ७ करोडको लागतमा बनेको आरसीसी भवन, आवासका लागि तीन वटा, चमेना गृहलगायत अन्य ९ वटा सानातिना भवनबाट सेवा सुचारु रहेको स्थानीय समाजसेवी कमलनारायण मल्लिकले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा क्रमशः सेवा विस्तार गर्दै लगिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश पोखरेलले जानकारी दिए । अस्पतालमा संघीय सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।



