
काठमाडौं, २० माघ
कोभिड १९ महामारी बढ्दै गएपछि तीन सातादेखि बन्द रहेका विद्यालय फागुनबाट खोल्न अनुमति दिने तयारी थालिएको छ । प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिए । उनले सबै तहको परीक्षा सञ्चालन गर्न पनि केही दिन भौतिक रूपमा विद्यालय खोल्नुपर्ने बताए ।
उनले विद्यालय खोल्ने विषयमा आगामी साता सीसीएमसीसीको बैठक बसेर निर्णय गरिने बताए । कोभिड–१९ संक्रमितको संख्या उच्च दरमा पुगेमा परीक्षाको प्रणाली नै परिवर्तन गर्न सकिने तर त्यस बाहेकको अवस्थामा फागुनबाट विद्यालय खोल्ने तयारी भइरहेको बताइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले फागुनमा विद्यालय खोलेर चैतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा लिने व्यवस्था नगरे आगामी शैक्षिकसत्र पछि धकेलिन सक्ने बताए । त्यसैले १२ देखि १७ उमेर समूहका सबै विद्यार्थीले खोप लगाएपछि फागुनबाट विद्यालय खोल्दा समस्या नहुने उनको तर्क छ ।



