
इटहरी,पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देखि तीन दिन सम्म असिना पानी पर्ने भएको छ । यो प्रणालीका कारण आज केही ठाउँमा हल्का पानी र भोलि र पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् बरुण पौडेलकाअनुसार आज प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून चापीय प्रणाली भित्रने भएकाले रातिदेखि नै पश्चिमी क्षेत्रको मौसम बद्ली भई पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम हुँदै देशैभर फैलिने भएकाले भोलि सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का धेरैजसो ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपातको सम्भावना छ । तराई र पहाडी जिल्लामा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो । पर्सि पनि हिमपात र वर्षाको सम्भावना छ । शनिबार भने मौसममा केही सुधार आउन सक्ने मौसमविद्ले बताएका छन् । यसैबिच लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ । इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । हिजो साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यस पटक विगत भन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ ।यस पटक भने माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउँ परेको छ ।



