About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १८ माघ
काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने तयारी सुरु गरेको छ । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ ।
सत्तारूढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको स्रोतले बताएको छ । शनिबार राति पाँचदलीय गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० दिन पर धकेलेको सरकारको आरोप छ । संसद्को बैठकलाई बिजनेस दिन नसके सरकारको आग्रहमा बैठक स्थगित गर्ने चलन छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा संसद् बैठक लामो समय स्थगित गरिएपछि पदीय आचरण नगरेको आरोपमा सभामुखविरुद्ध प्रस्ताव ल्याउन गृहकार्य सुरु भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसिसी सदनमा टेबुल गराउन चाहन्छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गर्ने सर्तमा मात्र एमसिसी अघि बढाउन चाहन्छन् । प्रतिपक्षी एमालेले पनि सभामुखले गैरसांसदलाई संसद् बैठकमा बस्न अनुमति दिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ ।
एमालेले गठबन्धन तोड्ने सर्तमा एमसिसी पारित गर्ने प्रस्ताव राखेको छ । यसमा सरकार सहमत भए एमसिसीको पक्षमा मतदान गर्ने आश्वासन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई दिइसकेका छन् । शनिबारको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी पारित नगर्ने हो भने गठबन्धन टुट्न सक्ने संकेत पनि गरिसकेका छन् । गठबन्धन तोडे पनि सभामुख बाधक हुन सक्ने भएकाले उनलाई पदअनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गर्ने तयारी थालिएको स्रोतको भनाइ छ ।
संसदमा यति बेला एमालेका ९८, कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टी (जसपा) का १९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, राष्ट्रिय जनमोर्चाका १, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १ गरी २ सय ७१ सदस्य छन् । एमाले, कांग्रेस, जसपा, लोसपा, राप्रपा, जनमोर्चा, नेमकिपासहितका सांसदलाई एकीकृत गरेर सभामुखविरुद्ध मतदान गर्न लगाउने खेल पनि सुरु भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय