
मोरङ, १३ माघ
राष्ट्रिय जनगणना २०७८ अनुसार मोरङका १७ पालिकामध्ये सबैभन्दा बढी जनसंख्या विराटनगर महानगरपालिका र सबैभन्दा कम मिक्लाजुङ गाउँपालिका रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार मोरङ जिल्लाको जनसंख्या ११ लाख ४७ हजार १८६ रहेको छ ।
जसमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकाको २ लाख ४४ हजार ७५० र सबैभन्दा कम मिक्लाजुङ गाउँपालिकाको ३३ हजार ३१५ रहेको छ । नगरपालिकातर्फ सबैभन्दा बढी सुन्दरहरैँचा नगरपालिकाको जनसंख्या १ लाख २१ हजार ३०५, बेलबारीको ८१ हजार ८३७, पथरीशनिश्चरेको ७२ हजार ६८९, उर्लाबारीको ७१ हजार ५६२, रतुवामाईको ६१ हजार ३५५, रंगेलीको ५७ हजार ८१४, सुनवर्षीको ५६ हजार १६९ र लेटाङको ३८ हजार ६७५ जनसंख्या रहेको छ ।
यस्तै, गाउँपालिकातर्फ सबैभन्दा बढी बुढीगंगाको ५१ हजार ६४०, कटहरीको ४८ हजार ६३३, जहदाको ४७ हजार ८३६, धनपालथानको ४५ हजार २०४, कानेपोखरीको ४३ हजार १७७, ग्रामथानको ३६ हजार ५००, केराबारीको ३४ हजार ७२५ र मिक्लाजुङको ३३ हजार ३१५ रहेको तथ्यांक सार्वजनिक भएको छ ।



