
उर्लाबारी, १० माघ
मोरङको विराटनगरबाहिर पहिलो पटक उर्लाबारी बहुमुखी क्याम्पसमा स्नातक तहमा पत्रकारिताको पढाइ हुने भएको छ । यस वर्षदेखि क्याम्पसले मानविकी संकायमा पत्रकारिता विषय थप गरेको हो ।
यस सम्बन्धमा आज क्याम्पसमा पत्रकार सम्मेलन गरी पत्रकारिता विषय अध्यापनका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई विद्यार्थी भर्ना प्रक्रिया अघि बढेको जानकारी गराइयो । क्याम्पस प्रमुख वेधराज भट्टराईले यस वर्ष स्नातक तहमा पत्रकारिता र सामाजिक कार्य विषय थप गरिएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको चार वर्षे पाठ्यक्रम अनुसार पत्रकारिताको पहिलो वर्ष मास मिडिया र सञ्चारको परिचय, पत्रकारिता सिद्धान्त र अभ्यास, दोस्रो वर्ष मिडियाको नीतिशास्त्र, कानुन र इतिहास, मिडिया अनुसन्धानका आधारहरु, तेस्रो वर्ष जनसम्पर्क र विज्ञापन परिचय, आमसञ्चार र पत्रकारिता तथा चौंथो वर्ष प्रसारण पत्रकारिता, नयाँ माध्यम र अनलाइन पत्रकारिता र फोटो पत्रकारिता विषय पढाइ हुने उनले बताए ।
पुर्वोत्तर मोरङका साथै विभिन्न पहाडी जिल्लाका पत्रकारिता अध्ययन गर्न इच्छा राख्ने विद्यार्थीलाई लक्षित गरेर विषय थप गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुष्पलाल ढकालले बताए । कक्षा ११ देखि स्नातकोत्तरसम्म पढाइ हुने उर्लाबारी बहुमुखी क्याम्पसमा स्नातक तहमा शिक्षा, मानविकी, वाणिज्य संकाय साथै एक वर्ष विएड, स्नातकोत्तर तहमा एम ए (ग्रामीण विकास), एमएड (नेपाली, अंग्रेजी र जनसंख्या) तथा एमवीएसको पढाइ भइरहेको छ । हाल १७ सय ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा ४० जना प्राध्यापक र १२ जना कर्मचारी कार्यरत रहेका छन् ।



