
उर्लाबारी, ८ माघ
व्यवसाय र राजनीतिमा सक्रिय उर्लाबारीका युवाहरु सामाजिक कार्यमा पनि अग्रसर हुँदै आएका छन् । कोरोना कहर होस् या अन्य विपत्लगायतमा युवाको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।
यसैमेसोमा उर्लाबारीका युवाहरुले मोरङको उर्लाबारी–९ का सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) प्रदान गरेका छन् । ग्रुप अफ युथ उर्लाबारीमा आवद्ध युवाहरुले आफ्नो व्यक्तिगत खर्चमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको युवा लोलिम पोमू लिम्बूले बताए । जाडोमा सर्ट र पेन्टको भरमा विद्यालय जानु पर्ने बाध्यता रहेकोले विद्यार्थीलाई केही मात्रामा भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले उक्त सामग्री सहयोग गरेको लिम्बूले बताए ।
ग्रुप अफ युथले राजघाट आधारभूत विद्यालयका ८३ जना, महाराजथान आधारभूत विद्यालयका ७६ जना, सार्वजनिक माध्यमिक विद्यालयका ५० जना र प्रभात आधारभूत विद्यालयका ५० जना गरी २ सय ५९ जना विद्यार्थीलाई शुक्रबार ज्याकेट वितरण गरेको हो । उर्लाबारीका युवाहरु लोलिम पोमू, हिरामणि सिलवाल, दिपक भट्टराई, कृष्ण दाहाल, डा. सन्दिप अधिकारी, डा. सम्पन्न बुढाथोकी, डा. विशाल प्रतिक मिश्र, रमेश श्रेष्ठ, भूपाल काफ्ले, नरकाजी श्रेष्ठ, नितम कार्की, सुजित जैसवाललगायतको टिमले सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्युन आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई सहयोग गरेको हो । विपन्न विद्यार्थीले पनि सहज रुपमा विद्यालय आउन सकून् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको उनीहरुले बताएका छन् । न्यानो कपडा पाएपछि विद्यार्थीहरु दंग भएका छन् ।
अरनिको अस्पताल प्रालि उर्लाबारीका अध्यक्ष समेत रहेका लोलिम पोमू लिम्बूले चार वटै सामुदायिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क ब्लड ग्रुप छुट्याउने, शिक्षक, शिक्षिकाको सुगर जाँच निःशुल्क गरिदिने बताए । उर्लाबारी–९ का कुनै पनि वडावासी आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुन नदिने बताउँदै उनले त्यस्ता विरामीको अरनिको अस्पतालमा निःशुल्क उपचार गरिदिनु बचनवद्धता प्रकट गरे ।



