About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० पुस
मोरङको उर्लाबारीमा सवारी दुर्घटना बढेको छ । यसअघि फाट्टफुट्ट मात्र हुँदै आएकोमा पुस महिनामा भने अत्यधिक दुर्घटना भएको छ । पुस महिनामा मात्र १५ वटा दुर्घटना भएका छन् । यो महिना दुर्घटनामा परी चार जनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।
महिनाको दोस्रो दिन पुस २ देखि अन्तिम दिन ३० गतेसम्म भएका १५ दुर्घटनामा ७ जना गम्भीर घाइते र ८ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले जनाएको छ । पुस २८ गते बिहान र बेलुका भएका दुर्घटनामा दुई जनाको मृत्यु भयो । उक्त दिन बिहान पूर्वपश्चिम लोकमार्गको उर्लाबारी–३ सोल्टी पुलमा मोटरसाइकल दुर्घटनामा उर्लाबारी–७ का निश्चल बानियाँको मृत्यु भयो । सोही दिन साँझ उर्लाबारी–५ स्थित लोकमार्गमा मोटरसाइकल र भेन जुध्दा मोटरसाइकलमा सवार पवन लिम्बू र हिरण विक घाइते भएकोमा लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ भने गम्भीर घाइते विकको उपचार भइरहेको छ ।
यस्तै, पुस १८ गते पूर्वपश्चिम लोकमार्गको बक्राहा पुल छेउमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक उर्लाबारी–१ का विजय शर्माको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । पुस १३ गते उर्लाबारी–८ अठियाबारीमा मोटरसाइकल दुर्घटनामा पछाडि सवार दमक–३ का मंगलसिं राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका विकास घलेको घाइते भएका छन् । मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडीको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
पछिल्लो समय दुर्घटना बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । साँघुरो सडक, चालकको लापरबाही, सवारीको चाप, मापसेलगायतका कारण दुर्घटना बढेको बताइन्छ । ट्राफिक प्रहरीले पनि सवारी चेकजाँचलाई तीब्र बनाउनु पर्ने माग समेत बढेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय