
काठमाडौं, २३ पुस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को ओमिक्रोन भेरियन्टले गर्दा अस्पतालहरुमा अत्यधिक चाप हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारका लागि अक्सिजनलगायत अन्य सामग्रीको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।
ओमिक्रोनका कारणले अत्यधिक मात्रामा कोभिड केसहरु बढ्न सक्ने भएकाले आवश्यक सजगता अपनाउन पनि मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ । नयाँ भेरियन्ट पहिचानका लगि अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै वीर, सिभिल, वीरेन्द्र सैनिक, त्रिवी शिक्षण अस्पतालका साथै प्रदेश २ को जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट सरकारले जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको छ ।



