
उर्लाबारी, २० पुस
बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले साढे ९ करोड रुपैयाँ नाफा कमाएको छ । कर्णाली गत आर्थिक वर्ष २०७७।०७८ मा जम्मा आम्दानी ४० करोड ६६ लाख ८६ हजार २१८ रुपैयाँ आम्दानी र ३१ करोड ८ लाख १६ हजार ६३१ रुपैयाँ खर्च गरी ९ करोड ५८ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
आज मोरङको उर्लाबारीमा संस्थाले आयोजना गरेको इकाइगत साधारणसभामा संस्थाका कोषाध्यक्ष एकराज बिष्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा संस्थाका ३९ हजार ८६९ शेयर सदस्यको ३५ करोड ८४ लाख ५३ हजार शेयर पुँजी रहेको उल्लेख छ ।
सो अवसरमा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले २१ औं वार्षिक साधारणसभा इकाइगत गरेको अध्यक्ष श्रेष्ठले बताए । झापा, मोरङ र इलाम जिल्लाका २१ स्थानीय तहमा ३५ वटा सेवा केन्द्रबाट संस्थाको गतिविधि सञ्चालन भइरहेको अध्यक्ष श्रेष्ठले बताए । एक घर एक सदस्यको नीतिका साथ अघि बढेको संस्थाले आगामी वर्षसम्ममा ४५ वटा सेवा केन्द्र पु¥याउने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा संस्थाले शेयर लाभांश ९ प्रतिशत र असल नियमित बचत तथा नियमित कर्जाको किस्ता असुली गर्ने सदस्यहरुको योगदानको आधारमा संरक्षित पुँजी फिर्ता कोष ५ प्रतिशतले वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सामाजिक कार्य अन्तर्गत संस्थाले ग्रामीण क्षेत्रका १० वटा विद्यालयमा अध्ययरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १ देखि १२ सम्म अध्ययन गर्न १० छात्र र १० छात्रालाई प्रतिवर्ष जनही पाँच हजार छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । यसका लागि छात्रवृत्ति कोषलाई बढाएर छ लाख पु¥याइएको छ । साधारणसभाको अवसरमा असल र उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
संस्थाले उर्लाबारी, मिक्लाजुङ र रतुवामाईका शेयर सदस्यहरुका लागि उर्लाबारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा साधारणसभा गरेको हो । साधारणसभा होटल तथा पेय पदार्थ व्यवसायी संघ उर्लाबारीका क्षेत्रीय अध्यक्ष मनोहरि दाहालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले सहकारीले विपन्नदेखि उच्च वर्ग सबैको भावना समेट्न सक्नुपर्नेमा जोड दिए । रोजगारी, शिक्षा, व्यापार सबै क्षेत्रमा सहकारीले कार्यक्रमहरु ल्याउन सक्नुपर्ने उनको भनाई थियो ।
साधारणसभामा सञ्चार क्लब उर्लाबारीका अध्यक्ष नवराज भट्टराई, फस्ट माइक्रोफाईनान्सका क्षेत्रीय प्रबन्धक हिरामणि भेट्वालले साधारणसभा सफलताको शुभकामना दिएका थिए । संस्थाका सचिव भुपाल बस्नेतको सञ्चालन, उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य मनकुमार बेघाले प्रस्तुत गरेका थिए ।



