
उर्लाबारी, १५ पुस
मोरङको उर्लाबारीमा तमु ल्होसार विभिन्न कार्यक्रम गरी मनाइएको छ । तमु ह्युल छाँेज धीं गुरुङ राष्ट्रिय परिषद नगर समिति उर्लाबारीको आयोजनामा उर्लाबारी–२ सालबारीमा एक कार्यक्रम गरी ल्होसार मनाइएको हो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सोही स्थानामा स्थापना गर्न लागिएको आशिमँला पार्क र बुद्धको मुर्तिको अनावरण गरिएको थियो । प्रमुख अतिथि फागोले सबै जाति, भाषा, धर्मको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताए । उर्लाबारी नगरपालिकाले पनि संस्कृति संरक्षण र सम्वद्र्धनका लागि विभिन्न काम गर्दै आएको उनले बताए ।
फरक प्रसंगमा मेयर फागोले पार्टी वा सरकार दुवैको नेतृत्वमा अब सक्षम व्यक्ति आउनु पर्ने बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनता र राष्ट्रलाई केन्द्रमा राखेर राजनीति नगरिए देश अग्रगतिमा जान नसक्ने उनको भनाई थियो । कार्यक्रममा गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य केशरमान गुरुङ, आदिवासी जनजाति महासंघ उर्लाबारीका अध्यक्ष मणिलाल श्रेष्ठ, नेवा देय दवु उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठलगायत अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका सभापति तथा तमु ह्युल छाँेज धीं गुरुङ राष्ट्रिय परिषद नगर समिति उर्लाबारीका अध्यक्ष मदन गुरुङले नाचगान, खानपान, शुभकामना आदान प्रदान गर्दै तमु ल्होसार मनाइएको बताए । कार्यक्रम स्थलमा गुरुङ पार्क स्थापना गर्न लागिएको र बुद्धको मुर्ति स्थापना गरिएको उनले बताए । उर्लाबारीमा १५० घर परिवार गुरुङ समुदायको बसोबास रहेको बताउँदै अध्यक्ष मदन गुरुङले संस्कृति संरक्षणमा लागिपरेको जनाए ।
संस्थाका सचिव कमल गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा सर्सु गुरुङले सञ्चालन गरेकी थिइन् । सो अवसरमा परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदायका नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।



