
उर्लाबारी, २९ मंसिर
मोरङको मिक्लाजुङ गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलन कार्य भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो गाउँपालिकाले बस रिजर्भ गरेर विभिन्न वडाका बासिन्दालाई नामावली दर्ता गर्नका लागि ल्याएको छ । गाउँपालिकाको केन्द्र मधुमल्लामा नामावली दर्ता गर्न आउने वडा नं. १ देखि ५ सम्मका नागरिकलाई बसको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए । वडा नं. १ तत्कालीन रमिते खोला, वडा नं. २ र ३ तत्कालीन टाँडी र ४ र ५ तत्कालीन जाँते गाविसमा पर्छ । गाउँपालिकाको केन्द्र टाढा भएको र नामावली संकलनमा कोही पनि नछुटुन् भनेर पाँच वटा वडाका लागि गाउँपालिकाले बस रिजर्भ गरिदिएको अध्यक्ष आचार्यले बताए ।
मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न वडा नं. १ बाट मात्र तीन वटा बसमा वडावासीहरु आएका थिए । वडा वडामै लगेर नामावली संकलन गर्न प्रयास गरेपनि निर्वाचन आयोगले केन्द्रभन्दा बाहिर लान नमिल्ने बताएपछि बस रिजर्भ गरेर गाउँपालिकाको केन्द्रमा नागरिकहरुलाई ल्याइएको हो ।
मंसिर १७ गतेदेखि सुरु नामावली दर्ता कार्यक्रममा गाउँपालिकाले वडागत रुपमा नामावली संकलन गरेको छ । टाढाबाट सेवाग्राहीलाई ल्याउनु पर्ने भएकोले मंसिर २४ गते वडा नं. ३, २५ गते वडा नं. ५, २७ गते वडा नं. १, २८ गते वडा नं. ४ र पुस २ गते वडा नं. २ को नामावली संकलनको मिति तोकिएको छ । अन्य वडाका बासिन्दाले भने पुस २ गतेसम्म जुनसुकै दिनमा पनि नामावली दर्ता गराउन सक्ने अध्यक्ष आचार्यले बताए ।
मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत हालसम्म साढे ६ सयभन्दा बढीले नाम दर्ता गराएका छन् । संकलन कार्यमा सेवाग्राहीको भीड लागेपछि निर्वाचन आयोगले पठाएका कर्मचारीलाई सहयोग गर्न गाउँपालिकाले थप ३ जना कर्मचारी खटाएको छ । आयोगले एक जना कर्मचारी पठाएको छ ।
२०७४ सालको निर्वाचनमा मिक्लाजुङ गाउँपालिकामा २१ हजार ५ जना मतदाता रहेका थिए । सबैभन्दा बढी वडा नं. ६ मा ३६ सय २७ र सबैभन्दा कम वडा नं. ५ मा ११ सय ३५ मतदाता रहेका थिए ।



