About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तिलक नेपाली
उर्लाबारी, २० मंसिर
सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सहजकर्ताहरुलाई तीन दिने तालिम प्रदान गरेको छ । प्रदेश नं. १ का सहजकर्ताहरुका लागि सुनसरीको इटहरीमा मंसिर १७ देखि १९ गतेसम्म पुनर्ताजगी तालिम सञ्चालन गरिएको हो ।
सामी परियोजनाको केन्द्रीय साझेदारी संस्था डिप्रोक्स नेपालले आयोजना गरेको तालिममा प्रदेश नं. १ का ७ जिल्लाका २४ जना वित्तीय साक्षरता सहजकर्ताहरुको सहभागिता रहेको थियो । सामी परियोजनाको वित्तीय साक्षरता विषयमा प्राविधिक सहयोग डिप्रोक्स नेपालले गरिरहेको छ । उक्त संस्थाले सहजीकरण गरिरहेको ७ वटा जिल्लाका स्थानीय तहमा कार्यरत सहजकर्ताहरुलाई तालिम दिइएको हो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सामी हेल्भाटसका कार्यक्रम संयोजक देवनारायण चौधरीले सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।
उनले सहभागीलाई तालिममा हासिल गरेका अनुभवलाई समुदायमा लागू गरी परिवर्तन गरेर देखाउन सुझाव दिँदै वित्तीय सक्षरताका २७ वटा सूचकहरुलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्न अनुरोध गरे । तालिममा डिप्रोक्स नेपालका तालिम तथा मिल मेनेजर पुण्यप्रसाद पौडेल, डाटा मेनेजमेण्ट सुपरभाइजर कल्पना कट्वाल, क्षेत्रीय संयोजक किरण दाहाल, ओजनबाबु आचार्यले सहजीकरण गरेका थिए ।
नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच सम्झौता भए अनुसार श्रम रोजगार तथा सामाजिक मन्त्रालयको नेतृत्वमा, हेल्भाटस नेपालको प्राविधिक सहयोगमा र स्थानीय निकायको अगुवाईमा हाल नेपालका ३९ जिल्लामा सुरक्षित आप्रवासन परियोजना सञ्चालनमा छ । सो परियोजना अन्तर्गत प्रदेश नं. १ का ८ वटा जिल्लामा सामी कार्यक्रम लागु भएको छ ।
यस परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, शोषणमुक्त र व्यवस्थित बनाउन पहल गर्दै आएको छ । यस्तै, सूचनामा पहुँच, न्यायमा पहुँच, सीपमूलक तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय