About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ मंसिर
उर्लाबारी नगरपालिकाले ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राहत साथै पोषण सामग्री वितरण गरेको छ । नगरपालिका परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका ब्यक्तिलाई राहत बितरण गरिएको हो ।
अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम संयोजक तथा उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले १८ जना अपाङ्गता भएका ब्यक्तिलाई राहत र १८ जना अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न बितरण गरिन् । सो अवसरमा उपप्रमुख भण्डारीले अपाङ्गता रहर नभई बाध्यता भएकाले सबैले अपाङ्गता भएका ब्यक्तिलाई साथ, माया र हौसला दिनु पर्ने बताइन् । उर्लाबारी– ३ मा अपाङ्गता भएका ब्यक्तिहरूको लागि सामुदायिक भवन निर्माण गरेको जानकारी गराउँदै उनले नगरपालिकाबाट अपाङ्गता भएका ब्यक्तिलाई दिने सहयोग कटौती नगरी अझै बढाएर लैजाने र राज्यबाट पाउने सेवा सुबिधा सदैब उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरिन् ।
कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरूको समूह उर्लाबारीका अध्यक्ष ब्यासकुमार लिम्बूले अपाङ्गता भएका ब्यक्तिले अपाङ्गता परिचय पत्र लिन धेरै समस्या भइरहेकाले नगरपालिका मार्फत परिचय पत्र बितरण गर्ने ब्यवस्था मिलाउन आग्रह गरे । मिलिजुली समूह वडा नं. २ की अध्यक्ष सुमित्रा श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिलाई समूह मार्फत प्रत्येक वडामा बीउ पुजीको रूपमा नगरपालिकाले ५० हजार सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै नगरका सबै अपाङ्गता भएका ब्यक्तिहरूलाई समूहमा आबद्ध हुन आग्रह गरिन् ।
उपप्रमुख लक्ष्मीदेवी भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला सुब्बाले स्वागत मन्तब्य राखेकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय