
काठमाडौं, १७ मंसिर
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनले देश चलाउन नसकेको जिकिर गरेका छन् ।
शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पदबहाली कार्यक्रममा उनले गठबन्धनबाट देश चल्न नसकेको बताए । ‘पाँचदलीय गठबन्धनबाट देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यो भद्रगोल, यो अनियमितता, यो स्थिति देशले धेरै लामो भोग्न सक्दैन, हामीले सधैँ भनिरहेका छौं,’ उनले भने ।
सरकार कार्यपालिकालाई प्रभावकारी ढंगले अघि बढाउने, न्यायपालिकाको जटिलतालाई समाधान गर्नेतिर नलागी विपरीत बाटोमा लागेको उनको भनाइ छ । ओलीले ताजा जनादेशमा जानुपर्नेमा जोड दिए । ताजा जनादेशबाट समस्याको समाधान निस्कने उनको दाबी थियो । जनतामा जानबाट तर्सिएर अरू ढंगबाट सत्ता पाउनेतिर दौडिने काम राजनीति नभएको उनले बताए । बाह्रखरीबाट



