
विराटनगर, १७ मंसिर
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोलि हुने प्रदेश कार्यसमितिको निर्वाचनका लागि उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहेका लोकप्रिय युवा नेता खड्ग फागोले सहमहामन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश समितिको निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । फागोको उम्मेद्वारीमा चन्द्रप्रसाद राजवंशी प्रस्तावक र श्रीमान थापा समर्थक रहेका छन् ।
मोरङ क्षेत्र नं. १ को दुई कार्यकाल सभापति भइसकेका फागो देउवा–सिटौला प्यानलबाट प्रदेश १ को सहमहामन्त्रीमा उम्मेद्वार बनेका हुन् । फागो मोरङ १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरी विजयी भएका हुन् ।
युवा नेता फागो नेपाली काँग्रेसको वडा तहदेखि केन्द्रसम्म भाइचारा सम्बन्ध स्थापित भएका व्यक्ति हुन् । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापति रहँदा उनले आफ्नो क्षेत्रमा पार्टीलाई चलायमान बनाउन खेलेको भूमिकाको प्रसंसा नगर्ने विरलै होलान् । फागो नेपाली काँग्रेसको वडा सहसचिव हुँदै २०४९ सालदेखि राजनीतिमा होमिएका हुन् । तरुण दलको वडा सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय संयोजक, पार्टीको क्षेत्रीय कार्यसम्पादन सचिव हुँदै क्षेत्रीय सभापति भएका उनले राजनीति शास्त्रमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
दुई कार्यकाल सर्वसम्मत क्षेत्रीय सभापति हुँदै गर्दा उनले क्षेत्रमा सफल संगठन निर्माण गरेका छन् । सैद्धान्तिक र वैचारिक स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढेका युवा नेतृत्व हुन् । राष्ट्र र पार्टी सिद्धान्तप्रति युवालाई प्रोत्साहन गर्ने, युवाहरुलाई नेतृत्व दिलाउँदै जाने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका फागो विकासप्रेमी नेताको रुपमा परिचित छन् । स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, अनियमितता रोक्न फागोले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रसंसा हुने गरेको छ । आम कार्यकर्ता र माथिल्लो तहका नेताको आग्रहमा आफूले सहमहामन्त्री पदमा उम्मेद्वारी दर्ता गराएको बताउँदै फागोले आफूलाई मतदान गरेर विजयी गराउन प्रदेश अधिवेशन प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।