
उर्लाबारी, १६ मंसिर
रोटरी क्लब अफ उर्लाबारीको क्लब एसेम्ब्ली सम्पन्न भएको छ । उर्लाबारी–८ स्थित एभरेष्ट फन पार्कमा क्लब एसेम्ब्ली तथा फेलोसिप कार्यक्रम गरिएको हो ।
उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । सो अवसरमा रोटरी क्लब अफ दमकका अध्यक्ष भरत चौलागाई र सर्भिस प्रोजेक्ट चेयर सागर श्रेष्ठले रोटरी र रोटरी फाउण्डेशनका बारेमा जानकारी गराएका थिए । सो अवसरमा रोटरी क्लबको नयाँ सदस्यता लिएका व्यक्तिहरुलाई सदस्यता समेत प्रदान गरिएको कार्यक्रम संयोजक विनोद न्यौपानेले जानकारी दिए ।
क्लबका सचिव नवीन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष विष्णु ओली, पूर्व अध्यक्षहरु सुरेन्द्र सुवेदी, लिलाराज प्रधान, राजेश महेश्वरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रोट्याक्ट क्लब अफ उर्लाबारीले गरेका गतिविधिका बारेमा रोट्याक्टका प्रेसिडेन्ट इलेक्ट किशन अटलले जानकारी गराएका थिए । यस्तै, रोटरी क्लब अफ उर्लाबारीका प्रेसिडेन्ट इलेक्ट हेमचन्द्र भट्टराईले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । रोटरी क्लब अफ उर्लाबारी सामाजिक कार्यमा संलग्न संस्था हो । क्लब शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जनचेतनाजस्ता सामाजिक कार्यमा सक्रिय रहेको पूर्व अध्यक्ष राजेश महेश्वरीले बताए ।



