
उर्लाबारी, ८ मंसिर
नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले पार्टीको आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने विषयले अहिले चर्चा पाएको छ । पुनः क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपनि अन्तिम समयमा महाधिवेशन प्रतिनिधिमा मनोनयन गरी सर्वाधिक मत प्राप्त गरेका फागोले जिल्ला सभापतिका लागि तयारी गरेको बताइएको छ ।
काँग्रेसको आज सम्पन्न क्षेत्रीय अधिवेशनको मत परिणाम अनुसार महाधिवेशन प्रतिनिधिमा फागोले सर्वाधिक ५२२ मत प्राप्त गरे । यही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि जितेका जिल्ला सभापति डिगबहादुर लिम्बूले फागोको भन्दा ३३ मत कम अर्थात ४८९ मत प्राप्त गरे ।
विकासप्रेमी, झुपडीसम्मका काँग्रेसजनका सारथी, पाकादेखि युवा कार्यकर्ताका ढुकढुकी फागो दुई कार्यकाल क्षेत्रीय सभापति भइसकेपछि अब स्वभाविक रुपमा जिल्ला सभापतिको दाबेदार रहेको एक क्षेत्रीय प्रतिनिधिले बताए । यस क्षेत्रका काँग्रेसजन फागोलाई माथिल्लो नेतृत्वमा जान दबाब दिइरहेका छन् । ‘दुई कार्यकाल क्षेत्रीय समितिको सफल नेतृत्व गरेको व्यक्तिले माथिल्लो नेतृत्वमा जानु स्वाभाविक हो’ एक क्षेत्रीय प्रतिनिधिले भने, ‘पुनः क्षेत्रको नेतृत्व गर्छु भन्दा उहाँलाई रोक्ने काम भयो, अब उहाँ जस्तो डायनामिक लिडरले त्यतिकै बस्न मिल्दैन, जिल्ला सभापतिको उम्मेद्वार बन्नुपर्छ ।’
यद्यपि, फागोले जिल्ला अधिवेशनमा कुन पदमा उम्मेद्वारी दिने भन्ने औपचारिक रुपमा घोषणा गरेका छैनन् । निकट स्रोतका अनुसार उनले जिल्ला सभापतिमै उम्मेद्वारी दिने मनस्थिति बनाएका छन् । काँग्रेसको जिल्ला अधिवेशन मंसिर ११ गते हुँदैछ ।



