About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ मंसिर
झापाको कमल–३, केर्खामा केन्द्रीय कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आज पाठशाला (उर्लाबारी) सेवा केन्द्रमा साधारणसभा सम्पन्न गरेको छ । सेवा केन्द्रगत रुपमा साधारणसभा गर्दै आएको उक्त सहकारीले उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सेवा केन्द्रगत रुपमा साधारणसभा सम्पन्न भएपछि मंसिर ५ गते अन्तिम साधारणसभा गरिने अध्यक्ष पराजुलीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख फागोले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्ने सहकारी संस्थालाई नगरपालिकाले सहयोग गर्ने बताए । उनले विपन्न वर्गको उत्थानमा सहकारीको महत्वपूर्ण भूमिका रहने बताए । विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले अहिलेको आधुनिक सोचाइ र व्यवहारले कृषि क्षेत्रलाई निरुत्साहित पार्दै लगेको बताइन् । ‘यहाँ खसी बेचेर कुकुर पाल्ने चलन आएको छ’ उनले भनिन्, ‘दुध बेच्न घरघर जानु पर्छ, रक्सी खान कुना कुनासम्म मानिस खोज्दै जान्छन् । यसबाट बुझ्न सकिन्छ, हाम्रो समाज कता जाँदैछ ।’ नवोदय सहकारीले कृषि कर्म गर्दै आएकोमा उनले प्रसंसा गरिन् । कार्यक्रममा समाजसेवी जयधर्म आचार्य, शोभा चेम्जोङ पालुङ्वा, सुकदेव पौद्दारले शुभकामना मन्तव्य राखेका थिए ।
१६ हजार ३८ जना शेयर सदस्य रहेको नवोदय सहकारीको शेयर पुँजी १२ करोड १३ लाख १५ हजार ७ सय रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा उर्लाबारी सेवा केन्द्रका दुर्गाप्रसाद खतिवडाको स्वागत मन्तव्य, अध्यक्ष शरणकुमार पराजुलीको सभापतित्व र उपाध्यक्ष बलराम गजुरेलको सञ्चालन रहेको थियो ।
झापाको कमल गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको नवोदय सहकारीको झापा र मोरङमा गरी ११ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । झापाको बुधबारे, धुलाबारी, केर्खा, बनियानी, बिर्तामोड, सुरुंगा, शिवगञ्ज, दमक र ग्वालडुब्बा, मोरङको उर्लाबारी र मधुमल्लामा सेवा कार्यालय रहेका छन् । सबै सेवा केन्द्रमा कार्तिक १६ देखि २४ गतेसम्म प्रतिवेदन वितरण गरी प्राप्त सुझाव माथि आजको साधारणसभामा छलफल गरिएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय